04/08/2026
मानव सभ्यताको विकाससँगै गाँजाको रेसा कपडा बुन्नका लागि प्रयोगमा आएको अनुमान छ । ईसापूर्व ८ हजार वर्षभन्दा पहिलेदेखि नै गाँजाको रेसाबाट कपडा बनाउन थालिएको विश्वास गरिन्छ । कतिपय नेपाली समुदायमा दैनिक खाद्य र मानवीय तथा घरपालुवा जनावरको स्वास्थ्य उपचारको स्रोतको रूपमा गाँजाको प्रयोग भइआएको पाइन्छ ।
एक अध्ययनका अनुसार गाँजाबाट बनेको कागज नियमित पल्पवुड पेपरको तुलनामा ७–८ गुणा बढी पुनः प्रयोग गर्न सकिन्छ । एक अध्येताका अनुसार गाँजाको फूल फुलिसकेपछि काटिएको डाँठ कागज बनाउन सबैभन्दा अनुकुल कच्चा पदार्थ मानिन्छ । पछिल्लो तथ्यअनुसार गाँजाबाट निर्मित सामग्रीहरू निर्माणसम्बन्धी कामका लागि पनि उपयोगी हुने देखिएको छ । अन्य निर्माण सामग्रीको दाँजोमा गाँजा–आधारित यी सामग्रीहरू सस्तो, टिकाउ र वातावरणमैत्री पाइएका छन् ।
गाँजाजन्य उद्योग र उत्पादनको व्यापारमा संलग्न काठमाडौँका व्यापारीका अनुसार वि.सं. २०७८ सम्म हेम्प वा प्राकृतिक (गाँजाको) रेसासँग सम्बन्धित ४ सय भन्दा बढी साना उद्योगहरू रहेका छन् । यी उद्योगहरूले लगभग ५० वटा जिल्लाको करिब १ लाख ७० हजार ५ सय हेक्टरमा गरिने गाँजा खेतीबाट रेसा सङ्कलन गर्दछन् । गाँजा खेती र व्यवसायमा आश्रित रहेका २५ हजार जति घरधुरी र ५ हजार १ सय भन्दा बढी कामदारहरूले करिब १० लाख ७५ हजार किलो गाँजाको रेसा उत्पादन गर्दछन् । यस मध्ये, ६० प्रतिशत रेसा गलैँचा उद्योगमा, १५ प्रतिशत रेसा फ्याब्रिक्स बनाउन र बाँकी २५ प्रतिशत रेसा घरेलु प्रयोजनका लागि उपयोग हुने गरेको छ ।
व्यवसायीहरूका अनुसार नेपालमा २८ लाख के.जी. सम्म रेसा उत्पादन गर्न सकिने सम्भावना छ । तर, लुकिछिपी ओसारपसार तथा निकासी गरिने भएकाले यसबाट लिन सकिने राजस्व औपचारिक रूपमा सङ्कलन गर्न सकिएको छैन । यसबाट गाँजा उत्पादन गर्ने स्थानीयवासी तथा सरकार दुवैलाई घाटा भइरहेको व्यवसायीहरूको भनाइ छ । गाँजा खेती र व्यवसायलाई वैध गर्दा राम्रै राजस्व सङ्कलन गर्न सकिने र अन्य आर्थिक अवसरहरूको पनि सिर्जना हुने अनुसन्धानहरूले पनि सावित गरेका छन् ।
गाँजाजन्य कच्चा पदार्थमा आधारित व्यवसायमा संलग्न व्यवसायीको अनुभवमा सुगन्धित तेलको मूल्य प्रति लिटर भा.रु. ८४ हजारसम्म रहने गरेको छ । सुगन्धित तेल चरेस बनाउन प्रयोग गरिने गाँजाको चोपबाट बन्छ । सदिऔँदेखि नै मनोसक्रिय र मनोरञ्जनात्मक उद्देश्यका लागि प्रयोग हुँदै आएको गाँजाको सबैभन्दा ठुलो बजार एसिया महादेश नै हो, जहाँ वार्षिक १ खर्ब ३२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको कारोबार हुन्छ ।यसैगरी उत्तर अमेरिकामा वार्षिक ८५ अर्ब ६० करोड अमेरिकी डलर, युरोपमा ६८ अर्ब ५० करोड अमेरिकी डलर, अफ्रिकामा ३७ अर्ब ३० करोड अमेरिकी डलर र ल्याटिन अमेरिकामा ९ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारोबार हुने गरेको छ ।
(नीति अनुसन्धान प्रतिष्ठानद्वारा प्रकाशित नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चुनौती नामक अध्ययनमा आधारित।)
Rhigendra Giri
#नेपालबन्छजबनेपालमैबन्छ
**p