10/09/2025
आफ्नै सम्पत्ति जलाएर देश बनाउँदैछौं हामी???
नगरपालिकाको भवन, विद्यालय, कार्यालय जलाउनु भनेको आफ्नै घरमा आगो लगाउनु हो। त्यो सम्पत्ति कसैको व्यक्तिगत होइन, हाम्रो साझा हो। भवनको गल्ती हुँदैन, गल्ती गर्नेहरू त नीति बनाउने र कार्यान्वयन गर्ने मान्छे हुन्। तर रिसको आवेगमा संरचना जलाउँदा घाटा त हामी सबैले बेहोर्नुपर्छ।
यति ठूलो शहरमा आगो निभाउन त कठिन पर्छ जस्तो लागेन, तर राज्य किन मौन बस्यो?
सिंहदरबार, संसद् भवन, सरकारी कार्यालय जलिरहँदा सेना र प्रहरी किन हेरिरहे?
किन प्रहरी/सेनाले रोक्न सकेन? किन आतंककारीमाथि कारबाही भएन?
निरपराध विद्यार्थीमाथि गोली चलाउने हात, आतंककारीमाथि किन थर्थराइरह्यो?
के हाम्रो सुरक्षा संयन्त्रको ताकत केवल निरपराधमाथि देखाउनकै लागि हो?
निरपराधलाई मात्र दबाउने तर देशको सम्पत्ति नष्ट हुँदा मौन बस्ने सुरक्षा निकायले आखिर राष्ट्रलाई झन् कमजोर बनायो।
समस्या त हामी भित्रै रैछ। केहीको स्वार्थ, अराजकता र जिम्मेवारीहीनताले आज देशलाई डुबाइरहेको छ।
अब जसरी हुन्छ अपराध गर्ने व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ – संरचना जलाउनेलाई “जनताको आवाज” भनेर महिमामण्डन गर्न हुँदैन। साझा सम्पत्ति जलाउने जोकोही अपराधी हुन्, जनताको प्रतिनिधि हुँदै होइनन्। राज्यले दृढताका साथ जोगिएका सम्पत्ति र जनताको सुरक्षा गर्नुपर्छ। नागरिकले पनि भावनामा होइन, विवेकमा चल्नुपर्छ किनकि जलाउन पो सजिलो थियो, बनाउन कति कठिन भएको थियो होला, सोचौं त!
संरचना मात्र होइन, लाखौंको सपना र पसिना जले।
यो भन्दा त भूकम्प आउँदा सजिलो भएको थियो होला किनकि त्यतिबेला जसोतसो उठिएको थियो। तर आज उठेर के फाइदा? के महत्व? अब देशको मूल्य कहाँ रहन्छ???
न्याय, सुरक्षा र आशा गुमेपछि गणतन्त्रको मूल्य के रह्यो?
रिसले होइन, विवेकले देश बनाउनु पर्दछ। नत्र हामी इतिहासकै अगाडि लज्जित हुनेछौं।😔